वैखरी अनलाईन, बाणगंगा ।
१४ औं कपिलवस्तु महोत्सवका संयोजक तथा आयोजक संस्था बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष तथा महोत्सवका संयोजक राजकुमार खाँणले भोलिदेखि सुरु हुने महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन दर्शकहरुलाई अवलोकनका लागी आह्वान गरेका छन् । कपिलवस्तु महोत्सव जिल्लाकै गरिमा भएको बताउँदै उनले भने, ‘विशेषतः कपिलवस्तु जिल्लावासीलाई महोत्सव अवलोकनका लागी आह्वान गर्छ । सबै दर्शकलाई चुले निम्तो छ ।’
उनले भोलि विहिबार १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । जसका लागी प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी आउँदैछन् ।
मुख्यतः यस क्षेत्रको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सव हुन लागेको उनले बताए । स्थानीय उत्पादन प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ महोत्सव हुन लागेको उनको भनाई छ । महोत्सवको सम्पुर्ण तयारी पूरा भएको उनले बताए ।
महोत्सवमा औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने संयोजक खाँणले बताए ।
“युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कपिलवस्तुको व्यवसाय र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । महोत्सवमा करिब ३०० स्टल रहने छन् ।
उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।








