बाणगंगा, वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २ गोबडिहवाबाट प्रहरीले चोरको गिरोहलाई पक्राउ गरेको छ । कपिलवस्तु, रुपन्देही र पुर्वी नवलपरासी स्थायी घर भएका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मंसिर २९ गते पक्राउ परेको उक्त गिरोहलाई ईलाका प्रहरी कार्यालय पिपराले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका- २ का २३ बर्षीय मुक्ति प्रसाद खनाल, रुपन्देहीको सैनामैना नगरपालिका- ९ का १८ बर्षीय मनोज दर्जी, सोही ठाउँका १८ बर्षीय समिर परियार, कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ का २६ बर्षीय विवेक थापा मगर, बाणगंगा नगरपालिका- २ का २८ बर्षीय विनोद परियार र ३३ बर्षीय विष्णु श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका देवचुलीका खनालले गोबडिहवामा कोठा भाडामा लिई बस्दै आएका थिए । सोही कोठामा संगै रहेको अवस्थामा ६ जनालाई प्रहरीले एकसाथ पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३ लाख ४९ हजार २ सय ५५ रुपैयाँसहित ७१० मिलिग्राम ब्राउन सुगर, ९ वटा मोबाईल, २ वटा मोटरसाईकल, एउटा ल्यापटप, सुन जस्तो देखिने पहेलो पदार्थ, चाँदी, तक्मा, क्यामेरा, ब्याग, चक्कु लागयतका सामग्री प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुको संजाल थप रहेको आशंका गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले बरामद गरिएका सामग्रीहरु दाबी गर्न ७ जना कार्यालयमा आईसकेको बताए । उनका अनुसार कोरियन भाषा पढ्ने बाहना बनाई उनीहरुले योजनाबद्ध रुपमा चोरी गर्दै आएका थिए ।
उनले पछिल्लो समय बाणगंगा क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएकाले सबै नगरवासीलाई सचेत रहन आग्रह गरे । केही दिनका लागी बाहिर जादाँ छिमेकी अथवा प्रहरीलाई जानकारी गराउन उनले अपिल समेत गरेका छन् ।
प्रहरीका अनुसार अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको छ ।







