गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा थपिए १६७ जना कुष्ठरोगका नयाँ बिरामी

कपिलवस्तुमा थपिए १६७ जना कुष्ठरोगका नयाँ बिरामी

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा कुष्ठरोगका बिरामीको संख्या बढेको पाईएको छ ।

पछिल्लो ३ बर्षको कृष्ठरोगसंग सम्बन्धित ईपिडिमियोलोजिकल तथ्याङ्कले जिल्लामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको देखाएको हो ।

उक्त तथ्याङ्कअनुसार नयाँ बिरामीको संख्या आर्थिक बर्ष २०७७/०७८ मा १२८ जना थिए भने आर्थिक बर्ष २०७८/०७९ मा १२३ जना छन् । तर आर्थिक बर्ष २०७९/०८० मा नयाँ विरामीको संख्या बढेर १६७ पुगेको छ । आईतबार कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवामा सरोकारवालाहरुबीच कुष्ठरोगसम्बन्धि भएको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

तथ्याङ्कअनुसार जिल्लाका १० पालिकामध्ये आर्थिक बर्ष २०७९/०८० मा महाराजगंजमा सबैभन्दा धेरै २६ जना नयाँ कुष्ठरोगका विरामी पत्ता लागेका छन् । यस्तै शिवराज र विजयनगरमा २५ जना, बुद्धभूमिमा २३ जना, कृष्णनगरमा २१ जना, बाणगंगामा २० जना, शुद्धोधनमा १५ जना, कपिलवस्तुमा ११ जना र यशोधरामा १ जना गरि कपिलवस्तु जिल्लामा जम्मा १६७ जना कुष्ठरोगका नयाँ विरामी पत्ता लागेका छन् । तथ्याङ्कअनुसार मायादेवी गाउँपालिकामा कुष्ठरोगका विरामीको संख्या शुन्य छ ।

उक्त पालिकामा विरामीको संख्या शुन्य हुनुको कारण विरामी पहिचानको कार्यक्रम नै संचालन नगर्नु हो । तथ्याङ्कले १४ बर्ष भन्दा कम उमेरका विरामीको संख्या १० जना देखाएको छ । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले आफ्नो पालिकामा कुष्ठरोगका विरामीको पहिचान गर्ने कामको थालनी गरेको बताएका थिए ।

उनले यस रोगको समयमै पहिचान गरेर थप भयावह हुन नदिने अवस्था सिर्जना गर्न सबैले जनचेता फैलाउन आवश्यक रहेको बताए । उनले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम संचालन गरेर पालिका अघि बढ्ने समेत प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमका सहभागीहरुले कपिलवस्तुमा कुष्ठरोगका विरामीको संख्या पत्ता लगाउन अभियान नै संचालन गरेर अघि बढ्न सुझाव दिएका थिए । उनीहरुले कुष्ठरोगसंग सम्बन्धित सम्पुर्ण जानकारी घरपरिवार, समाजमा सम्प्रेषण गर्न प्रतिवद्धता समेत जनाएका थिए ।

सम्बन्धित् समाचार