सागर वि.क., वैखरी अनलाईन ।
८औं चन्द्रौटा महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ । चन्द्रौटा उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव यही पौष १३ गतेदेखि पौष २४ गतेसम्म हुदैंछ । मुख्यतः यस क्षेत्रको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो ।

स्थानीय उत्पादन प्रवर्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ महोत्सव हुन लागेको महोत्सवका संयोजक तथा चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताए ।
उनले महोत्सव स्थलमा १ सय ८५ वटा स्टल रहने जानकारी दिए । उनले कम्पाण्ड, स्टल, टिकट काउन्टर, सचिवालय, बालउद्यान निर्माणको काम सम्पन्न भएको जानकारी दिए । सामान्य प्राविधिक तयारी बाहेकका सम्पुर्ण काम पूरा भईसकेको बताउँदै उनले भने, ‘स्टेज निर्माणको काम भईरहेको छ । विहिबार साँझसम्म शतप्रतिशत सकिन्छ ।’

महोत्सवमा औद्योगिक एवं हस्तकलाका उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने संयोजक पाण्डेले बताए । उनले स्थानीय प्रतिभा ८ औं चन्द्रौटा डान्स आईडलमार्फत प्रष्फुटन हुने बताए ।
“विकासको पुर्वाधार, आन्तरिक उत्पादन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कपिलवस्तु जिल्लाकै व्यवसाय र पर्यटन क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

कपिलवस्तुसहित अन्य जिल्लामा रहेका उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्धनका लागि विशेष प्रबन्ध मिलाएको आयोजकले जनाएको छ । आयोजकले महोत्सवमा एक लाख दर्शक भित्राउँदै करिब ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको छ ।








