चेतन बिष्ट, बाणगंगा ।
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको आफ्नै सभाहलमा भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकमा नगरको लोगो छनौटको लागि बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीको संयोजकत्वमा बनेको समितिले ६ जनाले बनाएका लोगो पेश गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए । अब ति ६ वटा लोगो बाट सबैभन्दा उत्कृष्ट लोगो छनौट गरिने प्रवक्ता पौडेलले बताए ।
त्यस्तै यही माघ १४ गते सिद्धार्थ क्याम्पसको सभाहलमा नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम समेत गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै बैठकले नगरभित्र घुम्ति शिविर सञ्चालन गर्ने पनि निर्णय गरेको छ । आगामि १७ गते बाणगंगा नगरपालिका वडा नम्बर १० को मेचकुरीमा शिविर गरिने नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिका बाट प्राप्त हुने सबै सेवा सुविधा प्रदान गरिने नगर प्रमुख चक्रपाणी अर्यालले बताए । नगरका सबै शाखाबाट प्रदान गरिने सेवा सो दिन वडा नः १० मेचकुरीबाट प्रदान गरिने प्रमुख अर्यालको भनाई छ ।
बैठकमा नगर प्रमुख अर्यालले विकासका कामलाई तिव्र गतिमा अगाडि बढाउन र योजनाहरु समयमै सम्पन्न गर्नको लागि निर्देशन दिनुभयो । नगरको समग्र विकासमा एकजुट भएर लाग्न पनि उनले मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन ।
त्यस्तै नगर उपप्रमुख रिता कुमारी चौधरीले लक्षित वर्गका कार्यक्रम र अन्य नगर र वडाका योजना तथा कार्यक्रमलाई समयमै सकेर नगरपालिकालाई कर्य सम्पादनमा अगाडि ल्याउन सबै पक्षलाई आग्रह गरीन ।

त्यस्तै नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरवासीको भावना अनुरुप काम गर्न नगर प्रतिबद्ध भएर लागेर काम गरी रहेको र नगरका योजना तथा कार्यक्रमले तिव्रता पाउने बताए । मरासिनिले नगरबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन आग्रह गर्दै आफुले पनि नेतृत्वदायी भुमिका खेल्ने बताए । बैठकमा वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।








