नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बिदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान ११ बजेतिर बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल बिदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, बिदुर–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।







