सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका- २ पिपरामा अवस्थित श्री सुपादेउराली माता मन्दिरको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम आईतबार मन्दिर परिसरमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरु बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, वडाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय स्थालको विकास भईरहेको भन्दै खुशी व्यक्त गरेका थिए । मन्दिरको प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनसके आगामी दिनमा थप भक्तजनको चाप बढ्ने उनीहरुले बताए । यसका लागी आवश्यक सहयोग नगरपालिका र वडाले गर्ने उनीहरुले प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

मन्दिर संचालक समितिका अध्यक्ष तेज बहादुर जिसीले स्थापना कालदेखि हालसम्म मन्दिरको भौतिक संरचना तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताएका थिए । मन्दिरप्रति भक्तजनको श्रद्धा एवम् विश्वास दिनप्रतिदिन बढ्दै गएको उनको भनाई छ ।
कार्यक्रममा सचिव अशोक कुमार खत्रीले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष नहकुल शाहीले विगत ५ बर्षको आर्थिक तथा लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष शाहीले आर्थिक बर्ष २०७५/७६ देखि आर्थिक बर्ष २०७९/८० सम्मको आयव्यय प्रस्तुत गर्दै विगत ५ बर्षमा कुल एक करोड १८ लाख ७१ हजार ७ सय २६ रुपैयाँ आम्दानी भएको बताए ।
उनले सो अवधिमा कुल एक करोड ९८ हजार ८ सय ५३ रुपैयाँ खर्च भएको जानकारी दिए ।
कार्यक्रममा मन्दिर परिसरमा बनेको भौतिक संरचना, भक्तजनबाट प्राप्त सहयोग, सिर्जीत सुविधा, विद्यमान समस्या, भावी योजना लगायतको समेत चर्चा गरिएको थियो ।








