सागर वि.क., वैखरी अनलाईन ।
जिल्ला डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले वन अतिक्रमण रोक्न कसैले सहयोग नगरेको गुनासो गरेका छन् । वैखरीसंगको कुराकानीमा उनले भने, ‘सबैभन्दा चुनौति वन अतिक्रमणकै छ । यसमा हामीलाई कसैले सहयोग गर्दैन् । सबैले विरोध मात्र गर्छन् ।’
उनले वन अतिक्रमणको विषयमा आफुहरुलाई काम गर्न नसक्ने वातावरण बनाउने काम निरन्तर भईरहेको समेत सुनाए । ‘यहाँ संस्थागत अतिक्रमणकारीहरु छन्, त्यसमा नगरपालिका, गाउँपालिका पनि पर्छन् । अरु सरकारी कार्यालय पनि पर्छन् । त्यपछि जनता भईहाले । त्यसमा पनि मन्दिर बनाउने टोली हुन्छ । खेल मैदान बनाउने टोली हुन्छ । यीनैको कुरामा लाएर राजनितिक दलका नेता पनि त्यही मिसिएका हुन्छन्,’ उनले भने ।
प्रत्यक्ष, अप्रत्यक्षमा रुपमा सबैबाट असहयोग भएको बताउँदै उनले मिडियाले पनि असहयोग गरेको गुनासो पोखे । वन अतिक्रमण रोक्दाँ आफुहरुकै विरुद्धमा समाचारहरु आएको उनले बताए । वन अतिक्रमण हुनु मानिसलाई क्यान्सर लागेको सरह हुने उनको भनाई छ । उनले वन अतिक्रमण रोक्ने अभियानमा आफु निरन्तर लागेको बताउँदै नयाँ वन क्षेत्र अतिक्रमण हुने अवस्था रोकिएको दाबी गरे ।
बाणगंगाको पट्ना क्षेत्रमा गत बर्ष ६० हेक्टर अतिक्रमित वन क्षेत्र रोकेको सुनाए । अहिले उक्त वन क्षेत्रमा विरुवा उमरिएर राम्रो भएको उनले बताए । हाल आफुहरु वन संरक्षण, वन व्यवस्थापन र वन पैदावरको सदुपयोगको काममा व्यस्त रहेको उनले सुनाए ।
उनले वन क्षेत्रबाट ढुङ्गा–गिट्टी चोर्ने, काठ चोर्ने र वन्यजन्तुको सिकार गर्ने विषय अहिले कपिलवस्तुमा नियन्त्रण भएको बताए ।








