गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा धेरै सडक बत्ती छन् भनेर विद्युत प्राधिकरणले बदमासी गरेको दाबी गरेका छन् । आईतबार सिद्धार्थ क्याम्पसको सभा हलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले बाणगंगा नगरपालिकाभित्र चारनम्बर र गजेहडा चोकमा मात्र सडक बत्ती रहेको तर प्राधिकरण ३ हजार ६ सय सडक बत्ती छन् भनेर नियोजित रुपमा बदमासी गरेको बताए ।

विद्युत नै नगएको ठाउँमा समेत प्राधिकरणले अन्दाजी सडक बत्ती जडान छन् भनेर बदमासी गरेको उनको भनाई छ । ‘बाणगंगा नगरपालिका कति सडक बत्ती जडान गर्दा झिलिमिली हुन्छ भनेर नगरका १० वटै वडामा एक पटक स्टिमेट गर्न लगाईयो । अहिले त्यसैलाई देखाएका रकम बक्यौता गर्न बाँकी भनेर देखाएछन्,’ उनले भने । यसै विषयलाई लिएर आफुहरु सिडियो कार्यालयमा गएको बताउँदै उनले विद्युत कार्यालयका प्रमुखलाई लिएर नगरपालिकामा अन्तरक्रिया समेत गरेको बताए ।

विद्युतका कर्मचारीहरुले फर्जी काम गरेको उनको आरोप छ । उनले नगरपालिका सबैको सल्लाह सुझाव अनुसार नै अघि बढिरहेको बताए । उनले प्राप्त सल्लाह सुझावलाई आत्मासाथ गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

छाडा पशुचौपया व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले हालसम्म १२ हजार घरदुरीमा पुगेर पशुचौपयाहरुको तथ्याङ्क संकलन गरिएको जानकारी दिए । छाडा गाईको अल्पकालीन व्यवस्थापनमा करिब ६ सय गाईलाई विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरि व्यवस्थापन गरेको उनले जानकारी दिए ।

उनले ति गाईहरुको खानपानको व्यवस्थापन स्थानीयहरुले नै गर्दै आएको बताए । उनले अझै पनि २ सय गाई व्यवस्थापन बाहिर रहेको बताए ।

उनले छाडा पशुचौपयाको व्यवस्थापन गर्न किसानहरु भन्दा आफुहरु बढी आतुर र जिम्मेवार रहेको समेत बताए । बाणगंगाले छाडा पशुचौपया व्यवस्थापन गर्दै गरेको देखेर दक्षिणी क्षेत्र तौलिहवाबाट गाईगोरु खेदाँएर बाणगंगामा पठाउने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नगरउपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनी, ११ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनितिक दलका प्रमुख वा प्रतिनिधि, टोल विकास समितिका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको संचालन पत्रकार पार्वती पाण्डेले गरेकी थिईन् । कार्यक्रममा पत्रकार हरि अधिकारीले नागरिक प्रतिवेदन र पत्रकार मोहन बेल्वासले बहिर्गमन पत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित् समाचार