वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ राजपुरले लम्पी स्किन रोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आईतबार वडाको आयोजना र युथ फर कन्जरभेसन एण्ड सस्टेनेएवल एग्रीकल्चरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
एक दिने उक्त कार्यक्रम श्री नेपाल राष्ट्रिय मावि चौंरीमा भएको थियो । वडाभित्रका किसानहरुलाई लक्षित गरि पशुपालक कृषकलाई रोग सम्बन्धि थप जानकारी होस् भन्ने उद्देश्यसहित उक्त कार्यक्रम गरेको वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

वडा सचिव निरज विक्रम थापा मगरको संचालनमा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता, श्री नेपाल राष्ट्रिय मावि चौंरीका प्रअ लोकनाथ गौतमको विशिष्ट आतिथ्यता लगायत अन्य आतिथिको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्यराख्दै विशिष्ट अतिथि लोकनाथ खनालले लम्पी स्किन रोगले राजपुर क्षेत्रको गाई–भैसीमा निकै नै प्रभाव पारेको र यस क्षेत्रमा महामारीको रुपमा देखिएको बताएका थिए । वडाध्यक्ष थापाले वडामा लम्पी स्किनको संक्रमणले गाई–भैसीमा विभिन्न समस्या देखिएको बताए ।
उनले आगामी दिनहरुमा कृषि र पशु क्षेत्रको विकासका निम्ति युथ फर कन्जरभेसन एण्ड सस्टेनेएवल एग्रीकल्चरसंग समन्वय गर्ने उल्लेख गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
सो कार्यक्रममा पक्लिहवा क्याम्पसका उप–प्राध्यापक डा.गंगा प्रसाद यादवले लम्पी स्किन रोगको परिचय, मुख्य लक्ष्यणहरु, उपचार र रोकथामबारे जानकारी दिएका थिए । उनले नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको बताए । उनले यो रोग क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषतः गाईमा लाग्ने गरेको बताए ।
उनले यो रोग भैँसीमा भने विरलै देखिने गरेको बताए । नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक देखिएको र त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको उनले बताए ।
उनले गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षणहरु देखिने बताए ।
उनले यस रोगको उपचार र रोकथाम बारे पनि प्रष्ट पारेका थिए ।
थप प्रशिक्षणको लागि युथ फर कन्जरभेसन एण्ड सस्टेनेएवल एग्रीकल्चरका अध्यक्ष आयुष काफ्लेले यूरिया मोलासेस र मिनरल ब्लकको बारे तालिम दिदै यसको प्रयोग गर्ने तरिका र बनाउने विधि सिकाएका थिए ।

उनले भविष्यमा यसको प्रयोगले पशु क्षेत्रमा निकै टेवा पुर्याउने बताए । कार्यक्रममा सुदन घिमिरेले किसानहरुलाई विषादी प्रयोग गर्दा सचेतता अपनाउन सिकाएका थिए । उक्त कार्यक्रममा सृष्टि भण्डारी र सृष्टि पन्थीले सह–प्रशिक्षकको रुप भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा सहभागी किसानहरुले कार्यक्रममार्फत धेरै विषयको जानकारी प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेका थिए । उनीहरुले कार्यक्रम निकै लाभदायक भएको बताएका छन् ।








