बुटवल ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको ११४ किलोमिटर स्तरोन्नतिको काम ठेक्का लिएको चिनियाँ कम्पनीले विभिन्न कारण देखाउँदै समयमा पूरा गर्न नसकेपछि सरकारले साउन ६ गते सम्मको लागि म्याद थप गरेको थियो । थपिएको म्याद सकिन अब ५ महिना मात्रै बाँकी हुँदा पनि स्तरोन्नतिको काम ४५ प्रतिशत पनि पूरा हुन सकेको छैन ।
दुई खण्डमा विभाजन गरेर काम गरिएको यो सडकमा बर्दघाट–बुटवल सडक खण्डको पश्चिममा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वमा पनि ४६ प्रतिशत मात्र काम भएको छ ।
दाउन्नेपूर्व ४८ किलोमिटर र पश्चिमखण्ड ६५ किलोमिटर पर्छ । पश्चिम खण्डका अहिले मासिक सरदर एक प्रतिशत काम भएकोले आगामी ५ महिनाभित्र ५० प्रतिशत पुर्याउने आङ्कलन गरेको पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तोकिएको समयमा पुरा हुने सम्भावना छैन । पछि म्याद थप अथवा जरिवानाको अन्य प्रक्रिया फरक पाटो होला ।’
यता दाउन्नेपूर्व खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले म्याद सकिने बेलासम्म यताको काम ७० प्रतिशत पुग्न सक्ने आङ्कलन गरिएको बताए । उनले भने, ‘हामीले पनि दबाब दिएका छौँ, उनीहरूले समस्या सल्टाउने प्रतिबद्धता जनाएका छन् । त्यसैले यताको काम पनि केही प्रतिशत वृद्धि होला ।’