पहिले सार्वजनिक सुनुवाइको माग गर्दै गुल्मीको इस्मा गाउँपालिकाको गाउँ सभा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका छन् । सभामा सञ्चालन भएपछि सभा सदस्यहरूले विभिन्न माग राखेर सभामा नाराबाजी गर्दै बहिष्कार गरेका हुन् ।
गाउँपालिकाले दुई वर्षसम्म सार्वजनिक सुनुवाई नगरेको, बेरुजु बढाएको, जीवराज आश्रित बहुप्राविधिक शिक्षालयलाई गाउँपालिकाले जग्गा उपलब्ध नगराएको, गाउँपालिकाको केन्द्रको विषयमा अदालतलाई दोष लगाएर उम्कने गरेकोले सभामा विरोध र नाराबाजी गरिएको सभा सदस्य तथा इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुँवरले बताए ।
त्यस्तै घुम्ती स्वास्थ्य शिविर गर्दा १० लाखको औषधी खरिद गरेर अनियमितता गरेको गुनासो आउँदा पनि पालिकाले समिति गठन गरेर छानबिन नगरेको, अध्यक्ष र उपाध्यक्षले एकमुष्ट बजेट राखेर वडालाई कमजोर बनाइएको भन्दै आफूहरूले सभामा नाराबाजी गरेर बहिष्कार गरेको कुँवरले जानकारी दिए ।
उनीहरूले पार्टीले बुझाएका ज्ञापन पत्रका विषय सम्बोधनको माग पनि गरेका थिए ।








