दाङ ।
घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ ।
घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ । यसका साथै नियमितरुपमा सवारी साधनको गति र मेकानिकल परीक्षण गरिने भएको छ ।
बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडकलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने उद्देश्यले बिभिन्न सुधारका योजनाहरु लागू गर्न थालिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।
ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा नियमित रुपमा सडकमा लेजर गन प्रयोग गरी सवारी साधनको गति परीक्षण गर्ने, यान्त्रिक कार्यालय र यातायात व्यवस्था कार्यालयको समन्वयमा सवारी साधनको मेकानिकल परीक्षण गरी कार्ड उपलब्ध गराउने तयारी पनि भएको उनले बताए ।








