नेपालगन्ज ।
बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।
बाँकेमा आइएनएफद्वारा संचालित साइनिङ अस्पतालमा ६० जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । संचारकर्मीसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मंगल थारुले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा ६० जना कुष्ठरोगका बिरामी फेला परेको बताए ।
चालु आर्थिक वर्षमा फेला परेका ६० जनामध्ये बाँकेका मात्रै २९ जना कुष्ठरोगका बिरामी छन् । बैजनाथ गाउँपालिकामा २ , डुडुवामा २, जानकीमा ४, खजुरामा ९, नरैनापुरमा ४, राप्तीसोनारीमा १, कोहलपुर नगरपालिकामा ३, नेपालगंन्ज उपमहानगरपालिकामा ४ जना रहेका छन् ।
थारुका अनुसार अस्पतालले ८ हजार ६०२ जना बिरामी चेकजाँच गर्दा कुष्ठरोगीका ती बिरामी फेला परेका थिए । गत वर्षको सोही अवधिमा ५१ जना बिरामी फेला परेका थिए । गत वर्ष साउनदेखि असार महिनासम्म भने १२६ जना बिरामी फेला परेका थिए ।








