भैरहवा ।
रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् ।
अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँगै सोमबार उद्घाटन हुने भएको छ । गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला सम्पन्न गर्न सबैको साथ र सहयोग रहेको कुँवरले बताए ।
उनले भने, ‘मैले आफ्नो काम सकेको छु । म भोलि यसको नतिजाको पर्खाइमा छु । यति ठुलो प्रोजेक्टमा हात हालेपछि अलि समस्या त भयो नै । तर सम्पूर्ण नेपाली दाजुभाइको सहयोगमा सम्पन्न गर्न सकेका छौँ । मैले अस्ट्रेलियाबाट सिकेको समयको महत्वका आधारमा काम गर्दा छोटो समयमा निर्माण सम्पन्न गर्न सफल भएका हौँ ।’
रंगशाला खेल्न तयार भए पनि अझै केही भौतिक निर्माण भने बाँकी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताए । रंगशाला उद्घाटनको दिन चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुनेछ ।