लुम्बिनी ।
अल्पकालीन श्रावणेर प्रव्रज्जित एक हजार २ सय ५० जनाले धम्म यात्रा गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रबाट शनिवार बिहानै धम्म यात्रा गर्दै केन्द्रीय नहर हुँदै मायादेवी मन्दिर पुगेका थिए । मन्दिर परिक्रमा गरी बेबी बुद्ध प्रतिमा हुँदै पुन: ध्यान केन्द्रमा आएका थिए । उनीहरुले शनिबार विहान ४ किमि भन्दा बढी धम्म यात्रा गरेका थिए ।
मुलुकका विभिन्न जिल्लाबाट आएर बुद्ध धर्म अनुशरण गरेका १ हजार २ सय ५० विभिन्न उमेर समुहका व्यक्तिलाई गत शनिबार प्रव्रज्या प्रदान गरिएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरु अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैंत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिरले बताए । बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उनीहरु श्रावणेर बनेका हुन् । उनीहरुलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षा सम्बन्धी कक्षा लिएका थिए । प्रवज्जित भएर श्रावणेर बनेकालाई भिक्षाटनको महत्व बुझाउन १० किलोमिटर धम्म यात्रा गराइने जनाइएको छ ।








