भैरहवा ।
बिना दर्ता अवैध रुपमा संचालनमा रहेका रुपन्देहीका तीनवटा ट्राभल एजेन्सी कारवाहीमा परेका छन् ।
जिल्ला अनुगमन समितिले शुक्रबार स्थलगत अनुगमन पश्चात् ट्राभल एजेन्सी जरिवानासहित कारबाही गरेको हो । कारवाहीमा परेको ती एजेन्सी सिद्धार्थनगर नपा–१ बेलहियास्थित भैरहवा भन्सार नाकाको सिमा क्षेत्रमा संचालनमा रहेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले कारवाहीमा परेका तिनवटै ट्राभल एजेन्सीलाई जनही २० हजार रुपैयाका दरले जरिवाना गरिएको बताए ।
ग्रिन ल्याण्ड टुर्स प्रालि, सी एण्ड के ट्राभल र ओम ट्रयूली नेपाल ट्राभल्स एण्ड टुर्सलाई जरिवाना सहित कारबाही गरिएको हो । अनुगमन समितिले शुक्रवार सिमावर्ती बेलहिया र भैरहवा क्षेत्रमा रहेका १६ वटा ट्राभलहरुको अनुगमन गरेको थियो ।
प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ अनुरुप ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नु पूर्व अनुमति लिनपर्ने र यदि अनुमतिबिनै संचालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । उपभोक्ता हित संरक्षण ऐन अनुरुप भने जिल्ला प्रशासन कार्यालयलाई यस खालका एजेन्सीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले अहिले बजारमा आर्थिक सिथिलता देखिएको र व्यवसायी समस्या परेकाले उपभोक्त हीत संरक्षण ऐनको सट्टा पर्यटन ऐन अनुसार जरिवाना गरिएको बताए ।








