गृहपृष्ठ Featured बुटवलमा एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए

बुटवलमा एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए

रूपन्देही ।

बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो।

पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए।

उनले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए।

‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका छन्, उनले भने,’अहिले हामीले बुटवलभित्र रहेका गाई गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरुमा निगरानी गर्ने र सहरभित्र गाई गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ।’

उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्‍याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरे। उनले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताए।

सम्बन्धित् समाचार