सागर वि.क., वैखरी अनलाईन ।
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला फुटवल संघ कपिलवस्तुको आयोजनामा उक्त प्रतियोगिता बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको जानकारी गराईएको हो ।
आन्तरिक, बाह्य व्यवस्थापनदेखि खेल मैदान व्यवस्थापनको काम अन्तिम चरणमा रहेको जिल्ला फुटवल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए । लुम्बिनी प्रदेशकै सबैभन्दा बढी धनराशीको उक्त प्रतियोगिता यही चैत्र १७ गतेदेखि २४ गतेसम्म हुँदैं छ । प्रतियोगिताको उद्घाटन कपिलवस्तु क्षेत्र नं.१ क सांसद समेत रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कार्यक्रम तय भएको अध्यक्ष थापाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको समापन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका कपिलवस्तु क्षेत्र नं.२ का सांसद सुरेन्द्रराज आचार्य आउने छन् । उनले प्रतियोगितामा ’ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ । जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम–११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहनेछन् ।
अध्यक्ष थापाले यस प्रतियोगितामाले खेलाडीहरुलाई खेलप्रति प्रोत्साहन गर्नुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा कपिलवस्तु जिल्लासहित यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । लुम्बिनी फुटवल संघका उपाध्यक्ष शक्तिसिंह ठकुरीले खेल पर्यटनको माध्यमबाट कपिलवस्तु जिल्लालाई विश्वभर स्थापित गर्न यस गोल्डकपले महत्वपुर्ण भुमिका खेल्ने दाबी गरे । यस्ता खेलले खेलाडीलाई खेलमै भविष्य खोज्न प्रेरित गर्ने उनले बताए ।
कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमाज बज्राचार्यले कपिलवस्तु यति ठूलो धनराशीको प्रतियोगिता हुन कपिलवस्तुवासीकै लागी गौरबको विषय भएको बताउँदै यसलाई सफल पार्न सबैले भूमिका खेल्न आवश्यक रहेको बताएका थिए । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
पहिलो उद्घाटन खेल कपिलवस्तु ११ र थ्री स्टार क्लवबीच हुने छ ।
यस गोल्डकपको संरक्षकको रुपमा बाणगंगा नगरपलिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, विजयनगर गांउपालिका, महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी र स्थानीय संघसंस्थाहरु रहेका छन् ।
यस्तो छ खेल तालिका









