गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : माओवादीका महरा मुख्यमन्त्री बन्ने निश्चित

लुम्बिनी प्रदेश : माओवादीका महरा मुख्यमन्त्री बन्ने निश्चित

रुपन्देही ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने निश्चित भएको छ । केन्द्रमा बनेको सत्तारुढ दलहरुको सहमतिअनुसार लुम्बिनी माओवादीलाई भाग परेको हो ।

कर्णालीमा माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले राजीनामा दिएसँगै लुम्बिनीमा महरालाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । कर्णालीमा पनि एमालेले सरकारको नेतृत्व गर्न निश्चित जस्तै भएको छ ।

लुम्बिनीमा एमालेले माओवादीभन्दा तेब्बर बढी सांसद भएकाले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर, केन्द्रको सहमतिपछि उसले नेतृत्व नपाउने भएको हो । सरकारको नेतृत्व गर्न लागेको माओवादीले गठबन्धनमा रहेका सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको र अहिलेका मुख्यमन्त्रीले मार्गप्रशस्त गरेपछि दाबी पेश गर्ने जनाएको छ ।

‘मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रयास वा राजीनामा दिएर बाटो खुला गरेपश्चात् सरकार गठनका लागि दाबी पेस गर्ने गठबन्धनको तयारी छ । गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ’, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले भने ।
एमाले प्रमुख सचेतक तुलसी चौधरीले केन्द्रमा भएको सहमतिअनुसार यहाँको नेतृत्व माओवादीलाई परेको र सोहीअनुसार आफूहरुले सहयोग गर्ने बताए ।

सम्बन्धित् समाचार