सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि हनामी विएफसी चिवतनले जितेको छ । कपिलवस्तुको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा शनिबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई टाई ब्रेकरमा हराउँदै हनामीले उपाधि जितेको हो । हनामीले पुलिसलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै हनामीले उपाधि जितेको हो ।
सुजित बुढाथोकीले खेलको ११ औं मिनेटमा गोल गर्दै हनामीलाई अग्रता दिलाएका थिए । लिसका अनुप लिम्बुले ४५ औं मिनेटमा गोल गरेर आफ्नो टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलमा कुनै पनि टोलीलाई गोल थप्न नसक्दाँ खेलको परिणाम टाई ब्रेकरबाट टुङ्गो लाग्यो ।
टाई ब्रेकरमा हनामीका लागी राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गोल गरे भने मनिस तामाङले गोल गर्न सकेनन् ।
पुलिसका लागी अनुप लिम्बु, विवेक पाण्डे र शिशिर चौधरीले गोल गरे भने पृथ्वी चौधरी र हेम तामाङले गोल गर्न सकेनन् ।
उपाधि हात पार्ने हनामीले ११ लाख ११ हजार १११ र उपविजेता पुलिसले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कसलाई कुन उपाधि ?
बेस्ट गोल किपर : भविन्द्र मल्ल (विएफसी)
बेस्ट डिफेन्स : अमृत श्रेष्ठ (विएफसी)
बेस्ट मिडफिल्ड : पृथ्वी चौधरी (पुलिस)
बेस्ट फरवार्ड : विवेक पाण्डे (पुलिस)
बेस्ट कोच : ध्रुब भुसाल (विएफसी)
प्लेयर अफ द टुर्नामेन्ट : सुजित बुढाथोकी (विएफसी)








