कपिलवस्तु ।
जिल्लाको यशोधरा गाउँपालिका-१ को पकडी गाउँमा भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन्। आगलागीका कारण घरमा भएको लत्ता कपडा, खाद्यान्न लगायत सम्पूर्ण सामग्री जलेर खरानी भएको छ।
आगलागीबाट पीडित बनेका ४० घर परिवार अहिले खुला आकाशमुनि रात बिताउन बाध्य छन्। आगलागीबाट करिब १ करोड रुपैयाँ बढीको क्षति भएको यशोधरा गाउँपालिका-१ का वडाध्यक्ष अब्दुल कैयुम खानले बताए। आगलागी पीडितहरूलाई खानपिनको व्यवस्थापन वडाध्यक्ष खानले गरेका छन्।
संघीय सांसद सुरेन्द्र राज आचार्य, लुम्बिनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय, युवा नेता अनुप कुमार पाण्डेय लगायतले आगलागी पीडितहरूलाई पकडी गाउँमा भेटेर थप सहयोगका लागि गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरिरहेको बताएका छन्।
हरेक दिन जसो हुने आगलागी नियन्त्रणका लागि गाउँपालिकामा एउटा वारुण यन्त्रको अति आवश्यक रहेको युवा नेता अनुप कुमार पाण्डेयले बताए। आफूहरूले वारुण यन्त्र खरिदका लागि गाउँपालिकाले निर्णय गर्नका लागि सुझावमूलक दवाव दिने बताए।
आगलागीबाट स्थानीय विमलावती रैदासको घरमा रहेका ग्यास सिलिण्डर विष्फोट हुदा आगलागीबाट जलेर क्षति भएको घर विष्फोटका कारण झनै क्षति भएको छ। आगलागी बढ्दै जाँदा वडा नम्बर १ को रजवापुर र तितिर्खी गाउँमा आगो सल्कन नदिन स्थानीयले रजवापुर र तितिर्खी गाउँको पश्चिम तर्फको खेत जोती खेतभरी पानी भरेका थिए।
अनि मात्र यी दुई गाउँ आगलागीबाट जोगिएको वडाध्यक्ष खानले बताए। करिब ५ घण्टा पछि कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर आगो निभाएका थिए।








