कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले शोकसभा सम्पन्न गरेको छ । काठमाडौंमा राप्रपाले गरेको जनप्रदर्शनमा घाइते भई निधन भएका स्व. ठाकुर प्रसाद डाँगीको १३औं दिनको पुण्यतिथिमा कपिलवस्तुको सदरमुकाम तौलिवामा शोकसभा गरिएको हो ।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले गत चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा उनी घाइते भएका थिए । आन्दोलनकारीलाई हटाउने क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा समस्या आएको थियो । बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको थियो ।
उक्त शोकसभालाई राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझी, राप्रपा लुम्बिनी प्रदेश सदस्य देवेन्द्र श्रीवास्ताव, राप्रपाका संगठन बिभाग प्रमुख राजेन्द्र बिक्रम शाह, राप्रपाका जिल्ला उपाध्यक्ष भोजराज आचार्य लगायतले सम्बोधन गर्दै सहिद डाँगीले पार्टी र समाजसेवामा गर्नु भएको योगदानबारे चर्चा गरेका थिए । उनीहरुले राज्यबाट भएको दमनको तत्काल उचित जबाव दिन कडा आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताए ।
राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको उक्त शोकसभा कार्यक्रमको संचालन राप्रपा जिल्ला उपाध्यक्ष बिष्णु भण्डारीले गरेका थिए । शोकलाई शक्तिमा बदल्ने शक्तिशाली संकल्प गर्दै आज जिल्लामा शोकसभा गरिएको हो ।








