पाल्पा।
पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २४ बढी घरगोठ जलेर लाखौंको धनमान नष्ट भएको छ ।
पूर्वखोलाको हेक्लाङमा १६ र रामपुर नगरपालिकाको ४ र ५ मा ८ आठ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति अबेर भएको र हावाहुरीका कारण तथ्यांक संकलनमा समस्या भएको प्रहरीले जनाएको छ ।
जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिएपछि पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा १६ घरगोठ जलेर नष्ट भएको छ भने यहाँका आधा दर्जन बस्ती डढेलोको जोखिममा परेको वडाध्यक्ष धनबहादुर घर्ती मगरले जानकारी दिए ।
हेक्लाङका तीन गाउँका १६ घरगोठ जलेर नष्ट भएको छ । बुधबार दिउँसो जंगलमा सुरु भएको डढेलो बिहीबार बिहानसम्म पनि नियन्त्रणमा आएको छैन । जंगलको भीषण डढेलो हावाहुरीले गर्दा बस्तीमा पसेपछि रेदीमा तीन, बाँसडाँडामा ७ र खुमडाँडामा ६ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष घर्तीले जानकारी दिए । घरगोठसँगै पशु चौपाया पनि मृत्यु भएको तर विस्तृत विवरण आउन बाँकी रहेको छ । बस्ती जोगाउनेतर्फ लागेकाले सम्पूर्ण विवरण आइसकेको छैन । हेक्लाङका साविकको ६ वडाका जंगलमा डढेलो फैलिएको छ । लाकुरी, रेदी, बाँसडाँडा, खुमडाँडा, पनेर्दी, सालवास, पोखराथोकलगायतका जंगलमा भीषण डढेलो फैलिएको छ । डढेलो चारैतिर फैलिएकाले पनेर्दी, सालवास र पोखराथोक गाउँ जोखिममा रहेको वडाध्यक्ष घर्तीले बताए ।
पाल्पाकै रामपुर नगरपालिका–४, को समानसिङ, रेवतीपोखरासाथै रामपुर–५, को गैरागाउँ क्षेत्रको जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएपछि आठ घरगोठ जलेर नष्ट भएको छ । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा भीषण डढेलो लागेको थियो । हावाहुरीले जंगलको डढेलो बस्तीमा फैलिएपछि आठ घर तथा गोठ पूर्ण रुपमा जलिसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
गैरागाउँको ५ र समानसिङको तीन वटा घर गोठ जलेको वडाध्यक्ष राम रानाले जानकारी दिए । रातभर डढेलो निभाउन र बस्ती जोगाउन खटिएकाले अझै पूर्ण विवरण आइनसकेको वडाध्यक्ष रानाले बताए ।








