काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा शुक्रबार पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी जारी सिजनको बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।
खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१औँ खेल हो । यो खेलमा पराजित भएमा मुम्बई उपाधि होडबाट बाहिरिने छ ।
जारी सिजनको आईपीएलमा कोलकाताले १०औं र मुम्बईले ११औँ खेल खेल्न लागेका हुन् । यो सिजन कोलकाता नाइट राइडर्सले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।
कोलकाताले यसअघि खेलिएका नौमध्ये ६ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भने १६ अंकसहित राजस्थान रोयल्स आसिन छ ।
मुम्बईले यसअघि खेलिएको १० मध्ये केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ । तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा रोयल च्यालेन्जर्स बैंगलुरु रहेको छ ।
मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले जारी सिजनको आईपीएलमा खेल्न लागेको यो पहिलो खेल हो । यी दुई टोलीबिच हालसम्म आईपीएलमा खेलिएको खेलमा ७२ प्रतिशत नतिजा मुम्बईले आफ्नो पक्षमा पार्दै आएको छ ।