जोमसोम ।
पछिल्लो समय हिमालकी रानीको उपमा पाएको दुर्लभ हिउँ चितुवा मुस्ताङका सडक तथा बस्ती नजिक देखिन थालेका छन्। चालु वर्षको वैशाख महिनामा मात्रै मुस्ताङका दुई स्थानमा हिउँ चितुवा सडक र बस्ती नजिक आएको देखे।
मुस्ताङमा दुर्लभ हिउँचितुवा सार्वजनिक रुपमा देखिन थालेपछि स्थानीयबासीमा थप कौतूहलता बढ्दै जान थालेको हो। वैशाख ९ गते उपल्लो मुस्ताङको लोमान्थाङबाट जोमसोमतर्फ जीप यात्रा गर्दै गरेको अवस्थामा लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले जोमसोम-कोरला सडकमार्गको समर खोला नजिकको सडकमै एकसाथ ४ वटा हिउँ चितुवा आफ्नै आँखाले प्रत्यक्ष देख्न भ्याइन्।
त्यही मात्र होइन उपाध्यक्ष बिष्टले त्यस समय जीप भित्र बसेर आफूले देखेका हिउँ चितुवाको तस्बिर र भिडियो समेत खिचिन्। उनले उक्त हिउँ चितुवाको फोटो र भिडियो सामाजिक सञ्चालमा राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्तामार्फत हिम चितुवाको फोटो र भिडियो भाइरल भयो।
यसैगरी शुक्रबार पनि हिमचितुवा बस्ती नजिक देखा परेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले एक वटा हिउँचितुवा वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी श्राद्धस्थलको कालिगण्डकी नदी पारी बस्ती नजिक देखा परेको जानकारी दिए।








