बुटवल ।
डेढ वर्षपछि सभापति पाएका लुम्बिनी प्रदेशका संसदीय समितिहरू अहिले सक्रिय बन्न थालेका छन् । सभापति चयन भएपछि सम्बन्धित मन्त्रालयहरूको काम कारबाहीबारे चासो राख्दै अधिकांश विषयगत समितिले मन्त्रालयको प्रगति विवरण माग्ने, समितिको वार्षिक क्यालेन्डर तयार पार्ने काम धमाधम गरिहरेका छन् ।
लुम्बिनीमा १७ महिनापछि वैशाख ५ गते समितिको सभापति चयन भएको हो। सभापति चयन भए पनि आफ्नो सरोकारवाला मन्त्रालयको अधिकांशले प्रगति विवरण माग्ने काम गरेको लुम्बिनी प्रदेश सभाका प्रवक्ता एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले बताए।
केही समितिहरूले प्रगति विवरण मन्त्रालयसँग लिएर अध्ययनको क्रममा छन्। केहीले लिने क्रममा रहेका छन् । गत ३० असारमा प्रदेश सभा बैठकले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाएको थियो, तर सभापति चयन नहुँदा समितिका कामकारबाही प्रभावकारी बन्न सकेका थिएनन्। वैशाख ५ गते सत्तामा रहेको एमाले–माओवादी र प्रतिपक्ष नेपाली कांग्रेसबिच भागबन्डा सभापति चयन भएपछि समिति सक्रिय भएका हुन् ।