गृहपृष्ठ खबर विद्यार्थीहरुका समस्या सुन्दै विश्वास जित्दै ‘वडाध्यक्ष गिरी’

विद्यार्थीहरुका समस्या सुन्दै विश्वास जित्दै ‘वडाध्यक्ष गिरी’

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ ले विद्यार्थीहरुसंग वडाध्यक्ष तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थीहरुको समस्या पहिचान गर्दै शिक्षा क्षेत्रमा आवश्यक सुधार गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।

वडाध्यक्ष विष्णु गिरीले विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्न तथा विद्यालयको शैक्षिक सुधार गर्न कार्यक्रम महत्वपुर्ण सावित भएको दाबी गरे । उनले विद्यार्थीको वास्तविक समस्याको पहिचान गरी वडाले समाधान गर्ने बताए । वडाध्यक्ष गिरीले आर्थिक अवस्था कमजोर भएर विद्यालयमा पढ्न बञ्चित भएका विद्यार्थीको पहिचान गरेर शैक्षिक सामग्री वितरण गरिने बताए ।

वडाभित्र रहेका ३ वटा सामुदायिक विद्यालयहरु (जनचेतना, जनज्योति र नवदुर्गा) मा अध्ययरत विद्यार्थीका समस्या, सल्लाह, सुझाव सुनिएको र सोही आधारमा वडाले आगामी दिनमा कदम चाल्ने प्रतिवद्धता जनाएको वडाध्यक्ष गिरीको भनाई छ ।

उनले अब वडा शैक्षिक सुधारको काममा तल्लीन हुने बताए । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी भर्नादरमा कमी, स्रोत र साधनको अभावमा सामुदायिक विद्यालयहरुले आफ्ना क्रियाकलाप संचालन गर्न नसकेको अवस्थामा वडाले केही इट्टा थप्ने उनले प्रतिवद्धता जनाए । वडाध्यक्ष गिरीले बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान गरी बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराउने र उनीहरुको सुन्दर भविष्य निर्माणमा पहल गर्ने बताए ।

उनले स्थानीय सरकारप्रति बालबालिकाको अपेक्षा थाहा पाउन, विद्यालयमा देखिएका समस्याको नीतिगत तहबाट समाधान र बालबालिकाको मनोबल बढाउने थलोका रुपमा कार्यक्रम स्थापित भएको दाबी गरे । यस्ता कार्यक्रमबाट विद्यालयको शैक्षिक गुणस्तरियता सुधार समेत सहयोग पुग्ने विश्वास लिईएको छ । विद्यार्थीले आफ्ना र विद्यालयमा भोग्दै आएका समस्या निर्धक्क भएर राखेकाले वडाले विगतदेखि नै शिक्षा क्षेत्रमा गरेको लगानीले सार्थकता पाएको वडाध्यक्ष गिरीले बताए ।

वडाध्यक्ष विद्यालयमै आएर समस्या बुझेकोमा विद्यार्थी खुसी हुदैँ सामुदायिक विद्यालयमा पनि नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट पठनपाठन हुनुपर्ने माग गरेका छन् । विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थीसंगै अभिभावकलाई पनि अभिभावक शिक्षा दिनुपर्ने विधार्थीहरुको भनाई थियो ।

सो क्रममा विद्यार्थीहरुले वडाध्यक्ष गिरीको पहलमा वडामा शिक्षा क्षेत्रसंगै विकास निर्माणका थुप्रै उदाहरणीय काम भएको भन्दै प्रशंसा गरेका थिए ।

सम्बन्धित् समाचार