काठमाडौँ ।
आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।
प्रतियोगिताको अन्तिम लिग खेलमा आइतबार कोलकाता र राजस्थान रोयल्सले एक-एक अंकमा चित्त बुझाएका थिए । वर्षाले खेल वासआउट भएपछि राजस्थानले शीर्ष दुईमा उक्लने अवसर गुमाएको थियो । राजस्थान तेस्रो स्थानमा रह्यो ।
त्यसअगाडि हैदराबादले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको थियो । अब बुधबार इलिमिनेटरमा राजस्थान र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्नेछन् । त्यसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।








