गृहपृष्ठ Featured भैरहवा कारागार : गोदाममै थन्कियो कैदीको ‘परिश्रम’

भैरहवा कारागार : गोदाममै थन्कियो कैदीको ‘परिश्रम’

भैरहवा ।

भैरहवा कारागारका कैदीबन्दीहरूले बनाएको मुढालगायतका फर्निचर सामग्री गोदाममै थन्किएको छ। कैदीबन्दीले बनाएका सामग्रीको बजारीकरणको समस्याले बिक्री नभएपछि गोदाममै थन्किएका हुन्।

अन्यत्र प्रतिष्ठानमा बनाइएको मुढालगायत फर्निचरभन्दा कारागारमा उत्पादित यी सामग्री सस्तो पनि हुन्छ। तर, कैदीबन्दीले उत्पादन गरेको सामग्रीको बजारीकरणमा कसैको ध्यान नजाँदा लामो समयदेखि गोदाममै थन्किएका छन्। जसले गर्दा कारागारभित्रै आफ्नो सीप सदुपयोग गरेर आफ्नो र घरपरिवारको गुजारा टार्र्दै आएका कैदीबन्दी चिन्तामा छन्।

‘हामीले उत्पादन गरेको सामग्री बजार मूल्यभन्दा करिब १५ प्रतिशत सस्तो पर्छ तर बजारीकरण नहुँदा बिक्री भएका छैनन््’, भैरहवाका कारागारका कैदीबन्दी चौकीदार रमेश चौधरीले भने, ‘जसकारण हामीलाई निकै समस्या परेको छ। लगानी डुब्ने पीडाले सताउँछ।’

जिल्ला कारागार रूपन्देहीमा रहेका कैयौं कैदीबन्दी र थुनुवाले आफ्नो सीपअनुसार पलङ, डाइनिङ टेबल, दराज, मुढालगायतका फर्निचर र घरायसी सामग्री बनाउने गरेका छन्। यी सामग्री बिक्री गरेर उनीहरूले आफ्नौ दैनिकीसँगै घर खर्चसमेत चलाउँदै आएका छन्। ‘कतिपय साथीहरूले आफ्नो सीपमार्फत कारागारमै परिश्रम गरेर प्राप्त आम्दानीले छोराछोरीको पढाइदेखि लिएर घर खर्चसमेत चलाउने गरेका छन्’, उनले भने ‘तर, पछिल्लो करिब पाँच महिनायता उत्पादित सामग्री बिक्री नहुँदा घरखर्च धान्नसमेत गाह्रो भएको छ।’ उनकाअनुसार कारागारको गोदाममा करिब १४ लाख रुपैयाँ बराबरको मुढालगायतका फर्निचर थन्किएको छ।

सम्बन्धित् समाचार