गृहपृष्ठ Featured सिद्धबाबा सुरुङ मार्गको काम तीब्र

सिद्धबाबा सुरुङ मार्गको काम तीब्र

रुपन्देही ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङ मार्गको कामले गति लिएको छ । कामको गति बढाउन बम विस्फोट गराउन प्राविधिक तयारीसमेत अघि बढेको आयोजना कम्पनीले जनाएको छ ।

सुरुङ मार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको थियो । उसले पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ फागुनमा सम्झौता गरेको छ ।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङ मार्गमध्ये हाल मुख्य सुरुङमार्ग ८५.७ मिटर खनिएको छ । दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको कम्पनीले जनाएको छ । उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान भई ३७.४ मिटर खनिएको छ ।

आयोजनाका अनुसार दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ। १५.६ मिटरको पहिलो, ७ मिटरको दोस्रो र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ । सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापनबारे शुक्रबार पूर्वाभ्यास गरिएको थियो ।
स्काभेटर तथा ब्रेकरको प्रयोग गरी सुरुङ मार्ग खन्ने काम भइरहेको छ । विस्फोटक पदार्थको प्रयोगले यसको निर्माण गति थप बढ्ने आयोजनाका इन्जिनियर सविता ज्ञवाली बताउँछिन् ।

नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरुको उपस्थितिमा शुक्रबार आवश्यक तयारी तथा अभ्यासबारे छलफल भएको उनले बताइन् । सुरुङका लागि आवश्यक विस्फोटक पदार्थ नेपाली सेनाले नै भण्डारण गरेर राखेको छ भने उनीहरुकै उपस्थितिमा काम हुने बताइएको छ ।

इन्जिनियर ज्ञवालीका अनुसार आइतबारदेखि विस्फोटनको काम हुनेछ । दैनिक ३ पटकसम्म विस्फोटन गराउने लक्ष्य राखिएको बताउँदै ज्ञवालीले यसको संख्या बढाउन सकिने उल्लेख गरिन् । यो समयमा निश्चित दूरीमा मानवीय गतिविधि रोक्नुका साथै उक्त सडक हुँदै गुड्ने सवारीसाधन केही समय रोक्ने तथा सुचारु गर्न ट्राफिक प्रहरी परिचालन गरिनेछ ।

अहिले आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक ३०० मिटरको दूरीमा तीन वटा सहायक सुरुङमार्ग बनाइएको छ । सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । आगामी आर्थिक वर्षमा करिब तीन अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ मा एक अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।

सम्बन्धित् समाचार