वैखरी अनलाईन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिका वडा नं.१ का वडाध्यक्ष तेज बहादुर बस्नेत ‘तिलक’ ले कृषिबाटै आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् । उनले निर्वाहमुखि कृषि त्यागेर व्यवसायिक कृषिमा लाग्न सके आर्थिक समृद्धि सम्भव रहेको बताए ।
उनले शुक्रबार कुन्द्रा सामुदायिक वनले महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत सुरु गरेको ३ दिने कृषिमा आधारित मौसमी, बेमौसमी तथा खाद्यान्न बाली सम्बन्धि तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

महिलाहरु सामूहिक कृषिमा व्यवसायिक रुपमै लाग्न सके स्थानीय स्तरमै सयौं महिलाहरु आत्मनिर्भर हुनसक्ने बताए । उनले आयात बढेको तर मुलुकभित्रको उत्पादन खच्किँदै गएको बताए । यसको मुख्य जिम्मेवार हामी सबै रहेको बताए । ‘हामी युवा शक्तिहरु विदेशमा पठायौं । विदेशबाट रेमिट्यान्स लिएर आयौं । बाहिरको ब्राण्डहरु नेपालमा ल्याएर बेच्यौं । रेमिट्यान्सबाट आएको पैसालाई फेरि बाहिर पठाऔं । देशमा त्यो पैसा बस्दै बसेन । त्यसबाट आउने राजश्वबाट राज्य रमायो । आयात बढ्यो तर मुलुकभित्रको उत्पादन खच्किँदै गयो,’ उनले भने ।
अर्थतन्त्रमा अहिले देखिएका समस्या र चुनौतिहरु हामी सबैले मिलेर बनाएको उनले बताए । ‘हामीले फड्को मार्न सक्ने अवस्था भनेको पहिलो नम्बरमा कृषि हो । अहिले हामीलाई चाहिने तरकारी तीन महिनामा फलाउन सक्छौं । अफ सिजनमा पनि तरकारी यही नै फलाउन सक्छौं । तीन महिनामा तरकारीमा आत्मनिर्भर बन्न सक्छौं । खाद्यन्नमा पनि राम्रो योजना बनाएर उत्पादन गर्न लाग्यौं भने एक वर्षमा आत्मनिर्भर बन्नसक्छौं । हामीलाई भू–भाग अपुग छैन,’ उनले भने ।
स्थानीय स्तरमै कृषि उत्पादन वृद्धि गर्न सके वडा र नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । कृषिका लागी आवश्यक ज्ञान, सिप र दक्षता दिलाउन तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
वनका अध्यक्ष प्रज्वल श्रेष्ठको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्र कार्यक्रमको संचालन वनकी सचिव कमला टण्डनले गरेकी हुन् भने स्वागत मन्तव्य उपभोक्ता सरिता खनालले राखेकी थिईन् ।








