गुल्मी ।
गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुंगामा एक महिने साउने मेला सुरू भएको छ । साउन १ गतेदेखि रेसुंगामा दर्शन गर्ने श्रदालुको घुइँचो लाग्ने गरेको हो । रेसुङ्गाको आफ्नै धार्मिक तथा ऐेतिहासिक महत्व भएकाले पनि यहाँ स्नान, मन्दिरमा पुजाआरधाना, भजन कीर्तन तथा नृत्य पूजा हुने गर्दछन् ।
रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भइ पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साउन महिनाको पहिलो दिन नै रेसुंगामा बिहानैदेखि श्रदालुको भीड लागेको छ। विगतका वर्षमा जस्तै यसवर्ष पनि साउने मेला सुरु भएकाले यहाँ बिहानैदेखि श्रदालुहरूको भीडभाड लाग्ने गरेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।
रेसुंगामा साउनभरे र एकादशीका दिन विशेष मेला लाग्ने गर्छ । एकादशी पर्वका दिन भगवान विष्णुको प्रतिका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर मनाउने प्रचलन छ। हरिबोधिनी एकादशी पर्वको अवसरमा रेसुङ्गा पोखरीमा स्नान गर्ने,तुलसीको विवाहसँगै विभिन्न भगवानको पूजाआरधाना गर्ने गरिन्छ ।








