विराटनगर ।
अनकन्टार जङ्गल, झाडी नै झाडी, अविरल वर्षा, निरन्तरको गड्याङगुडुङ र चट्याङ । निस्पट अँध्यारा ती रात झेलेर पनि बाँचेका ७० वर्षीय जामुनलाल ऋषिदेवलाई जङ्गलमा कसले छोड्यो भन्नेबारे सर्वत्र चासो छ ।
मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वन (चिहानडाँडा) देखि पूर्वपश्चिम सडकको उत्तरपट्टी ५ किलोमिटर टाढा गएर थप डेढ किलोमिटर पूर्व फर्केपछि जामुनलाल फेला परेको स्थलमा पुगिन्छ । ठुला–ठुला रुख र पटेर जङ्गलमा साना-साना गोरेटा छन् । जहाँ साइकल र मोटरसाइकल कुदाउन सकिन्छ । त्यस्तो ठाउँमा उनी आफैँ पुगे वा कसैले लगेर उनलाई छाडिदिएको हो भन्ने प्रस्ट भइसकेको छैन ।
जङ्गलमा चार/पाँच दिनसम्म रहँदा जामुनलालले पानी पनि पिउन पाएनन् । ठुलो स्वरले बोल्न नसक्ने, बोलेको कसैले सुन्नै नसक्ने, उठेर हिँड्न नसक्ने र सामान्यतः हातमात्र चलाउन सक्ने उनले एउटा सानो लाथ्रामा अढेस लागेरै चार रात र पाँच दिन (अनुमानका आधारमा) बिताइदिए ।
त्यसक्रममा उनलाई लामो जुँगा र लामो खुट्टा भएका राता किराले हातमा र खुट्टाको पैतालामा खाइरहे । धेरै जुका अघाए । हातले किरा र जुका हटाउन सकेनन् । ठाउँ सर्न पनि सकेनन् । पानी आउँदा ओत लाग्न सकेनन् । भोक लाग्दा खाने कुरा पाउने कुरै थिएन । पानी समेत पाएनन् । कल्पना गरौँ– उनले कसरी बिताए पाँच दिन ?
बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमाण्डर मुरारीप्रसाद काफ्ले गस्तीकै क्रममा सो स्थानमा पुग्यो । त्यसक्रममा परैबाट एउटा सानो पोका देखियो । ‘हामी गस्ती गर्ने क्रममा साझेदारी एरियामा नियमित गस्ती गर्छौं । त्यतिखेर जङ्गल एरियामा भित्री बाटो घुम्दै आउँदा रुखको हाँगा भाँचिएको ठाउँमा एउटा सानो पोकाजस्तो देखियो,’ काफ्लेले भने, ‘त्यहाँ गएर हेर्दा एक जना बुढो मान्छे बसिराख्नु भएको रहेछ । टाउको भुइँमा निहुरिएको थियो । हातखुट्टामा किरा, कमिला र जुका थिए । बोलाउँदा पनि बोल्न नसक्ने अवस्थामा थिए ।’
काफ्लेले वृद्धलाई बोलाएपछि उनले पानी मागेको इशारा गरे । ‘पानी मागेको इशारा गरेपछि हामीले बाटोमा निस्केर पानी लिएर गयौँ । दुई घुट्की पानी दिएपछि सासले स्याउस्याउ बोल्न थाले । त्यसपछि बोरा र जङ्गलको सानो हाँगा काटेर अस्थायी स्टेचर बनाएर गाडी चल्ने ठाउँसम्म बोकेर ल्यायौँ,’ उनले भने ।
त्यसपछि गाडीमा हालेर बेलबारी अस्पताल लगेको उनको भनाइ छ ।
काफ्लेले मङ्गलबार उनलाई उद्धार गर्नु अघिको परिवेश बताए, ‘जिउभरि रुखमा लाग्ने रातो रङको किरा लागेको थियो । हात र खुट्टाको पञ्जामा कमिलाले खाएर पिपजस्तो निस्किरहेको थियो । उनले भन्दा हामीलाई पाँच दिनजति भयो भन्ने इशारा गरे ।’
उनलाई पनि अनकन्टार जङ्गलमा ती वृद्धा आफैँ पुगेको विश्वास लाग्दैन । ‘यतिभित्र आफैँ आएका हुन् जस्तो मलाई लाग्दैन । त्यस्तो बुढो मान्छे । यहाँ हामीजस्तो मान्छे पनि पहिलोपटक एक्लै आएको खण्डमा बाटो पत्ता लगाएर फर्किन सक्ने अवस्था हुँदैन । यो अनकन्टार जङ्गलमा उनी कसरी आए ? यो कसैले ल्याएको हुनसक्ने सम्भावना धेरै छ,’ उनले भने, ‘उक्त एरियामा हात्ती प्रभावित क्षेत्र हो । बँदेलले पनि कहिलेकाहीँ आक्रमण गर्ने प्रयास गर्छ । हात्ती वा बँदेलले भेटेको अवस्था थियो भने उनलाई आक्रमण गर्न सक्थ्यो ।’
बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उक्त ठाउँमा मोटरसाइकल गुडेको डोब भेटिन्छ । ‘वृद्धा रहेको स्थानबाट उक्त मोटरसाइकल फर्किएको डोब देखिन्छ,’ गिरी भन्छन्, ‘कसैले लगेर छोडेको हुनसक्ने आशङ्का हो । घटनाको गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’








