गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस-एमालेको ह्वीप जारी

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस-एमालेको ह्वीप जारी

देउखुरी ।

लुम्बिनी प्रदेश कांग्रेस र एमाले संसदीय दलले मुख्यमन्त्री जोखबहादुर महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

एमाले संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले शनिबार कांग्रेस-एमालेको दलको संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको बताए । कांग्रेस संसदीय दल प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले आइतबार बिहान कांग्रेस-एमालेको संयुक्त बैठक बसेर थप रणनीति बनाइने बताए ।

लुम्बिनी प्रदेशसभाको २४ औं बैठकमा मुख्यमन्त्री महराले आइतबार दिउँसो १ बजे वक्तव्यसहित आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल भई उठेका प्रश्नहरुको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

एमालेका २९ माओवादी १०, नागरिक उन्मुक्ति पार्टी ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थनमा महरा चैत २३ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रमा कांग्रेस-एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकार सहयोगी एमालेका ५ जना मन्त्रीले असार २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत ४४ भए पुग्छ । एमालेका २९, कांग्रेसका २७ जना गरी ५६ जना सांसद संख्या पुग्छ ।

सम्बन्धित् समाचार