पाल्पा ।
पाल्पाको तानसेनमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको भेलामा गुटबन्दी अन्त्य हुनुपर्ने माग कार्यकर्ताले गरेका छन् । दिवंगत विश्वेश्वरप्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा राखिएको भनिएको विचार गोष्ठीमा चौधौ महाधिवेशनमा पराजित समूहकाहरुको सहभागिता थियो ।
भेलामा बोल्दै नेता तथा कार्यकर्ताले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । सभापतिलगायत अन्य पदमा पराजित समूहले राखेको भेलामा कांग्रेसभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएको चौधौ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित कृष्णप्रसाद बस्यालले बताए । उनले बीपीको विचार र सिद्धान्तलाई अनुशरण गर्दै पार्टीलाई अघि बढाउन सुझाव दिए ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राजन पन्तले गुट-उपगुटका कारण पार्टी कमजोर बन्दै गएकाले यसतर्फ पार्टीको नेतृत्व गर्नेले समयमै सोच विचार गर्न आग्रह गरे । ‘पार्टीभित्र गुट बलियो बनाउन खोज्नेले पार्टी कमजोर बनाउने पक्का छ,’ उनले भने, ‘सबैलाई समेटेर सोही अनुसारको व्यवहार प्रदर्शन गर्नुपर्छ ।’
कांग्रेसका पूर्वसचिव माधव नेपालले व्यक्ति होइन पार्टी बलियो बनाएर लैजान सबैलाई समेटेर अघि बढ्न आग्रह गरे । व्यक्तिवादी सोचका कारण आफूनिकट नभए पाखा लगाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनले बताए ।
कांग्रेस पाल्पाका आर्थिक सल्लाहाकार तथा तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले विगतमा भएका कमीकमजोरीलाई सच्चाएर पार्टीलाई एकमत बनाएर लैजानुपर्ने बताए । बीपीको विचार र सिद्धान्तलाई भुल्न नहुने बताउँदै त्यसलाई अनुशरण गर्न सकेमात्र पार्टी बलियो हुने उनले बताए ।








