पाल्पा ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोला नजिक भासिएको सडकमा डाइभर्सन गरे पनि जोखिम भने कायमै रहेको छ । दुई वर्षअघि भासिएकै स्थानमा पुनः ५० मिटर सडक भासिएपछि डाइभर्सन गरी एकतर्फि सवारी साधन सञ्चालन गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।
सडक डिभिजन पाल्पाले सोमबार दिनभर डाइभर्सनका लागि काम गरेको थियो । सवारी साधन एकतर्फी सञ्चालन गर्न सकिने बनाएर छाडेको डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए ।
यहाँ माथिल्लो भागमा पानी उम्रने र कमजोर भूगोल रहेको उनले बताए । सडक डिभिजनले तल्लो भागमा गत वर्ष रिटेनिङ वाल लगाएको छ । पक्की ढलान गरेर पहिरो रोकथामका प्रयास गरेको उनले बताए । ‘माथिल्लो भागमा पनि रिटेनिङ वाल लगाइएको छ,’ उनले भने, ‘तर यसले समाधान भएन । अब कसरी अघि बढ्ने भन्ने अन्योल छ ।’
माथिल्लो भागमा आर्थिक वर्ष २०८०/८१ मा सडक चौडा गरेको छ । लामो समय एकतर्फी भएको सडकमा केही महिनाअघि मात्र चौडा गरेर दुईतर्फी यातायात सञ्चालन हुँदै आएको थियो । तर पानी पर्नासाथ माथिल्लो भागबाट पहिरो खस्न सुरु गरिसकेको थियो । सडक डिभिजनले त्यही स्थानमा डोजर राखेर पहिरो पन्छाउने गरेको छ ।








