कपिलवस्तु ।
कपिलवस्तु र रूपन्देही जिल्लाको चार पालिकाको स्थानीय बिपद व्यवस्थापन तथा जलवायु उत्थानशिलता योजना (एलडिसिआरपी) निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले बिपद व्यवस्थापन योजना २०८१ लाई अनुमोदन समेत गरेका छन् ।
ईलामिक रिलिफ नेपालको सहयोगमा लुम्बिनी एकीकृत बिकास संस्था (लिडो नेपाल) ले सञ्चालन गर्दै आएको न्यून आय भएका र संकटासन्न समुदायको उत्थानशिलता अभिबृद्धि परियोजना (पिआरभिसी) को सहयोगमा सो योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
आगामी आर्थिक बर्ष २०८२/८३ पालिकाको निती तथा कार्यक्रममा समेटेर लैजाने गरि योजनाको दुई पालिकाले अनुमोदन गरेका हुन । त्यसैगरि रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र समरीमाई गाउँपालिकामा समेत योजना अनुमोदन कार्य प्रक्रिया अघि बढेको जनाइएको छ ।
शुद्धोधन गाउँपालिकामा आधिबेहेरी, बाढी, चटयाड्ड, बालीनालीको आगलागी जस्ता जोखिम रहेको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए । उनले पालिकाले जोखिम व्यवस्थापनको पुर्व तयारीका लागि शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई बिपद् व्यवस्थापनका आवश्यक सहयोग सामग्री पालिकाले उपलब्ध गराएको जानकारी दिए ।
बिपदको पूर्व तयारी आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले योजनाको कार्यान्वयनका लागि तत्पर रहने बताए । निर्मित योजनाको कार्यान्वयनले जोखिम र बिपद न्यूनीकरण, पूर्व तयारी र प्रतिकार्यमा सहयोग मिल्ने लिडो नेपालका सचिव मोहरत प्रसाद कुर्मीको भनाई थियो ।
दुई जिल्लाका चार पालिकामा वडा तहको संकटासन्न क्षमता बिश्लेषण र समुदायको जलवायु उत्थानशिलता योजना तयार भएको पिआरभिसी कार्यक्रमका कार्यक्रम अधिकृत शरदचन्द्र केसीले जानकारी दिए । कपिलवस्तुमा समुदायका २४ योजना पारित भई दुवै पालिकाले योजना अनुमोदन गरेको र रूपन्देहीमा समुदायका ३६ योजना पारित भई पालिकाले अनुमोदन गर्ने प्रक्रियामा रहेको केसीले स्पष्ट पारे ।








