पाल्पा ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डको तिनाउ गाउँपालिका–५ स्थित हिउँदेखोला नजिकै झण्डै ६० मिटर सडक भासिएको छ ।
यो पहिलो पटक भासिएको होइन । दुई वर्षअघि झण्डै ५० मिटर सडक जगैदेखि भासिएपछि तीन दिनसम्म सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो । सडक भासिएपछि यहाँका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारसमक्ष आवाज उठाए । तर बजेट भने पर्याप्त परेन ।
यसपटक साउन ७ मा पुनः यही खण्ड भासिएपछि यातायात सञ्चालन गर्न डायभर्सन गरिएको छ । यसको दिगो समाधान भने अझै खोजिएको छैन । विगतको डायभर्सनभन्दा यसपटक फरक ढंगले गरिएको सडक डिभिजन पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए । ‘जिओटेक्निकल इन्जिनियरहरूको सल्लाहमा सवारी साधन गुड्ने स्थानमै जालीमा ढुंगा भरेर राखिएको छ,’ उनले भने, ‘होइन भने डायभर्सन नै अडिएन । केही घण्टामै डायभर्सन दबियो ।’
सडकको भित्ता र तल्लो भागमा कमजोर भूगोल भएकाले डायभर्सनसमेत समस्या भएको उनले बताए । तर यो पनि सवारी सञ्चालनका लागि अस्थायी समाधान खोजिएको हो । हिउँदेखोलामा ४ करोड बढी बजेट खर्च भइसक्दा सडक स्थिर गर्ने उपाय अझै खोजिएको छैन ।
सिद्धार्थ राजमार्गको राम्दी–पोखरा सडक खण्डअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–११, तुल्सीभञ्ज्याङ र गल्याङ नगरपालिका–३, गल्याङ बजारनजिक दुई साताअघि राजमार्ग भासिएको थियो ।
वर्षाले राजमार्ग भासिएपछि सयौं सवारी साधनले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । सडक भासिएपछि डायभर्सन गरेर सवारी साधन सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ । गल्याङ प्रहरी चौकीका अनुसार तल्लो भागमा आँधीखोला किनारबाट जमिन भासिएको हो । स्थानीय तहको प्रयासमा सडक एकतर्फी सञ्चालनमा छ ।








