गृहपृष्ठ Featured फेरि नारायणगढ–बुटवल सडक विस्तारको म्याद थप

फेरि नारायणगढ–बुटवल सडक विस्तारको म्याद थप

नारायणगढ–बुटवल सडक विस्तार थालेको ६ वर्ष भयो । यसको भौतिक प्रगति बल्ल ५३ प्रतिशत पुगेको छ । निर्माण गति सुस्त रहेकै बेला फेरि एक वर्षको म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्मका लागि केही दिनअघि म्याद थप गरिएको हो ।

११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौता अनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले ढिलाइ गर्दा कामले गति लिन नसकेको हो ।

कामको गति बढाउने गरी म्याद थप गर्ने निर्णय भएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । उनका अनुसार दुवै साइड गरेर २६.५ किलोमिटर मात्र सडक कालोपत्र भएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।

आयोजनाले विनियोजित बजेटसमेत खर्चिन सकेको छैन । यो आयोजनाका लागि गत आवमा ७ अर्ब ४४ करोड ९२ लाख विनियोजन भएकामा ४६.९८ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् ३ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ खर्च भएको हो ।

सडक विस्तार ढिलाइले गर्दा दैनिक यात्रुले सास्ती खेप्नु पर्ने बाध्यता छ । विस्तार थालिएको सडकमा जताततै भएको खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । दाउन्ने खण्डमा अहिले लेदो माटोले गर्दा सवारी साधन चिप्लने समस्या थपिएको छ ।

सम्बन्धित् समाचार