रुपन्देही ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधवार पनि यस्तै मौका जुर्यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमशृङ्खलाको भिडियो र फोटो खिचेर उपलब्ध गराएका छन् ।
वर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरू देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरू लोभिएका हुन् । प्रायः असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरि लगायतका हिमालहरू देखिने पुस्तौँदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए ।
भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले बताए ।
मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिम श्रृंखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथर भूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्त्वपूर्ण हो ।
लुम्बिनीसहित तराईका जिल्लाहरूबाट असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीयहरू बताउँछन् । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरि लगायतका हिम श्रृंखलाहरु देखिन्छ ।








