परासी — पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित ४ जना युवा पक्राउ परेका छन् । रामग्राम नगरपालिका-२ कालिकाटोलस्थित मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेहरुमा सुनवल नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय सन्दिप परियार, रूपन्देहीको देवदह नगरपालिका-७ बस्ने १९ वर्षीय राजन विक, रुपन्देहीको रोहिणी गाउँपालिका-६ का ईरशाद मियाँ र रामग्राम नगरपालिका-२ का मोहम्मद सरिफ कुरेशी छन् ।
पक्राउ परेकाहरुको साथबाट डाइजापाम २८ एम्पुल, फेनारगन २८ एम्पुल, बुप्रिनुर्फिन २७ एम्पुल र सिरिन्ज बरामद भएको छ । पक्राउ परेकाहरुलाई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत परासीमा मुद्दा दायर गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








