गृहपृष्ठ Featured रुपन्देहीमा ६ जना फरार प्रतिवादी पक्राउ

रुपन्देहीमा ६ जना फरार प्रतिवादी पक्राउ

तिलोत्तमा — रुपन्देहीमा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसलाअनुसार ३५ वर्षअघि सजाय तोकिएका अभियुक्तसहित कैद तथा जरिवाना सजाय भुक्तान नगरी फरार रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले पक्राउ परेका फरार प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानको लागि रुपन्देही जिल्ला अदालतमा पेस गरिएको जानकारी दिए ।

डीएसपी भट्टका अनुसार पक्राउ पर्नेमा ३५ वर्षअघि गरिएको फैसला अनुरूप कैद तथा सजाय भुक्तान गर्नुपर्नेदेखि १२ वर्षअघि गरिएको फैसलासम्मका फरार प्रतिवादी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विभिन्न युनिटद्वारा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २०४६ साल चैत ३ मा रुपन्देही जिल्ला अदालतले सरकारी जग्गा आवाद मुद्दामा ३ हजार ८ सय ६१ रुपैयाँको जरिवाना फैसला गरेको कञ्चन गाउँपालिका–३ का देवबहादुर थापा क्षेत्री र २०६९ जेठ २३ गते कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद सजायको फैसला गरेको ओमसतिया गाउँपालिका–५ बस्ने महेशकुमार चाई छन् ।

यस्तै २०५० माघ २७ गते १ हजार रुपैयाँ बिगो मुद्धा वापतको जरिवाना फैसला भएका देवदह नगरपालिका–१२ बस्ने पूर्णबहादुर कुँवर, २०५० माघ २७ को फैसलाले गाली बेइज्ज्ती मुद्दामा १ हजार रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका–६ का शेरबहादुर थापा र सोही मितिमा चोरीसहित अन्य मुद्दामा ६ सय ७३ रुपैयाँ जरिवाना फैसला भएका देवदह–३ का माइला साथै २०४७ साल साउन ३० गते चोरी अन्य मुद्दामा ६ सय ७३ रुपैयाँ जरिवाना फैसला भएका देवदह–३ का मानबहादुर मगर पनि पक्राउ परेका छन् ।

सम्बन्धित् समाचार