गृहपृष्ठ Featured लुम्बिनीका स्थानीयको समस्या सम्बोधन गर्ने प्रयास

लुम्बिनीका स्थानीयको समस्या सम्बोधन गर्ने प्रयास

रुपन्देही ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरूबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ ।

लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को अध्यक्षतामा लुम्बिनी बचाऔँ महाअभियान र लुम्बिनी होटल संघ नेपाल सहित सरोकारवालाहरूसँग छुट्टाछुट्टै छलफल गरी कोषले माग सम्बोधन गर्ने भएको हो ।

स्थानीयहरूसँग कोभिड पछाडि बन्द रहेको लुम्बिनी संग्रहालय असोज १ गतेबाट सबैका लागि खुला राख्ने, मायादेवी मन्दिरको स्वरूप परिवर्तन र पूर्नसंरचना गर्न नपाइने, स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत संरक्षण शुल्कको दश प्रतिशत स्थानीय पालिकासंग सहकार्य र साझेदारी गर्न संयुक्त कार्यविधि बनाउने, मोनाष्टी र होटल व्यवसायी र अन्य सरोकारवाला संलग्न रहेको कार्यविधि निर्माण गर्ने एक कार्यदल बनाउने, मायादेवी प्रवेश शुल्कबारे सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्ने लगायतका विषय रहेको छ ।

यसै गरी कतिपय नीतिगत सुधारका पक्षमा कोषको परिषद् बैठकमा प्रस्ताव लैजाने पनि संघर्षरत पक्षसँग कोषले सहमति गरेको छ ।

स्थानीय लुम्बिनी बचाऔँ महाअभियान र होटल एशोसियसन लुम्बिनीले विभिन्न मागहरू राखेर कोषमा धर्ना र तालाबन्दी समेतका आन्दोलनका कार्यक्रमहरू भएका थिए ।

कोषले गत ज्येष्ठ महिनामा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा सरोकारवाला र लुम्बिनी सांस्कृतिक नगरपालिका समेत रहेको कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले दिएको १२ बुँदे तत्काल कार्यान्वयन गर्न सकिने सवालहरू यकिन गरेर कोषलाई सिफारिस समेत गरेको थियो ।
यसै गरी होटल व्यवसायी संघ र लुम्बिनी स्थित बौद्ध विहारहरूले गेष्ट हाउस चलाएको भन्ने विषयमा विवादहरू उत्पन्न भएकोमा एक संयुक्त अध्ययन कार्यदलले समेत प्रतिवेदन दिएको थियो । ती सवाललाई कार्यान्वयन गर्ने विषयमा कार्यवाहक उपाध्यक्ष समेत रहेका भट्टराईले साउन २३ गते कोषका सदस्य सचिव, योजना प्रमुख तथा शाखा प्रमुखहरूलाई राखेर कोषको स्पष्ट धारणा तयार गर्न निर्देशन दिएका थिए ।

बुधवार बसेको कोष र होटल व्यवसायीसँगको बैठकले विहार गुम्बा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने समझदारी बनेको हो ।

सम्बन्धित् समाचार