स्पेनिस ला लिगामा सेल्टा भिगोले पुनरागमन जित निकालेको छ ।
गएराति भएको खेलमा अल्भेसमाथि २-१ को पुनरागमन जित निकाल्दै सेल्टा भिगोले ला लिगामा विजयी सुरुवात गरेको हो । खेलको १७औँ मिनेटमा किके गार्सियाले गोल गर्दै अल्भेसलाई सुरुवाती अग्रता दिलाएका थिए । गार्सियाले एन्टोनियो ब्लान्कोको पासमा गोल गरेका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको अल्भेस दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको ६६औँ मिनेटमा सेल्टा भिगोका लागि विलियट स्वेडबर्गले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । विलियटले ह्युगो अल्भारेजको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ८४औँ मिनेटमा इयागो आसपासले गोल गर्दै सेल्टा भिगोलाई २-१ गोलअन्तरको पुनरागमन जित दिलाए । जितसँगै सेल्टा भिगोले ३ अंक जोड्न सफल भएको छ ।








