काठमाडौं ।
हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ ।
सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक सन्जोग राईले आफू प्रोफेसनल फोटोग्राफर भए पनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए । कोरोना अगाडिबाट नै सुरु गरिएको सिनेमा निर्माणका क्रममा आफूले विभिन्न उतारचढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे ।
निर्देशक राईलाई यो सिनेमा निर्माण सिनेमाकी मुख्य पात्र शिल्पा मास्केले पनि सघाएकी छन् । उनी सिनेमामा सह(निर्माताको रूपमा छिन् । सिनेमाको कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको अभिनेत्री मास्केले बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको शिल्पाको भनाई छ ।








