रुपन्देही ।
बुटवलको बेलबासमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ती युवतीको मृत्यु भएको हो।
प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल- ११ देवीनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठको सो घटनामा मृत्यु भएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर उनी बलेरो जिपमा ठोक्किन पुगेकी थिइन्।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।








