परासी ।
नवलपरासीबाट करिब डेढ क्विन्टल रक्तचन्दनसहित एक जना पक्राउ परेका छन् । रामग्राम नगरपालिका–८ लोसडाबाट आइतबार ८१ थान रक्तचन्दन बरामद भएको हो ।
रक्तचन्दन लुकाएर राखेको भन्ने सूचना पाएर गएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले स्थानीय प्रमोद गिरीको घरमा लुकाएर राखेको अवस्थामा १३० केजी रक्तचन्दन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहाराले जानकारी दिए ।
रक्तचन्दन प्रतिबन्धित वनस्पतिअन्तर्गत पर्दछ । भारतबाट नेपालहुँदै चाइनातर्फ लैजाने उद्देश्यले रक्तचन्दन ल्याएर लुकाएर राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । चिनसम्म पुर्याउँदा यसको मूल्य प्रति केजी १५ हजार पर्न सक्ने प्रहरीले अनुमान गरेको छ । जसअनुसार यसको मूल्य १५ लाख १९ हजार हुन आउँछ । बरामद भएको रक्तचन्दन र पक्राउ परेका गिरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।
प्रहरीबाट पठाइएका व्यक्ति र रक्तचन्दनलाई साइटिस (दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी) अन्तर्गत अदालतमार्फत कारबाही पक्रिया अगाडि बढाइने डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मेघनाथ काफ्लेले बताए ।








