वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ मा श्री स्वामी रामदासजीेको प्रवचन आजदेखि सुरु भएको छ । शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा सुरु भएको यस प्रवचनको कार्यक्रम यही भदौ २२ गतेसम्म चल्ने संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।

सनातन धर्म भक्ति मार्गका प्रचारकका रुपमा परिचित स्वामी श्री रामदासजीले विलक्ष्ण दार्शनिक प्रवचन दिनुभएको हो । उहाँले वि.स.२०७४ सालको रामनवमीका दिनदेखि धर्मशक्ति मार्गको प्रचारसेवा गर्दै आउनुभएको छ ।

भौतिक शास्त्रमा स्नातक एवं व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएका स्वामी श्री रामदासजीले नेपाल एवं भारतका विभिन्न स्थानहरूमा आफ्नो दिव्य प्रवचनद्वारा सनातन धर्मको सिद्धान्तलाई जनजनमा पुर्याउने प्रयत्न गर्नुभएको छ ।

संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्वामीको प्रवचनबाट आध्यात्मिक सुख शान्तिको अनुभव गरेको बताउनुभयो । सनातन धर्मको सिद्धान्तलाई जान्न यस्ता प्रवर्चन आवश्यक रहेको उहाँले बताउनुभयो ।

मानवको वास्तविक जीवनलाई सार्थकता तुल्याउनका लागी गर्नुपर्ने मानवीय कार्यमा खटिन प्रवचनले प्रेरणा जनाउने उहाँको भनाई छ । अध्यक्ष क्षेत्रीले भदौ २२ गतेसम्म दैनिक २ घण्टा प्रवचन हुने भएकाले ईच्छुकहरु जो कोही सहभागी हुन सक्ने बताउँदै सहभागीका लागी अपिल समेत गर्नुभयो ।
उक्त प्रवचनको पहिलो दिनमा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, संघका पदाधिकारीसहितउद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।








