कोहलपुर ।
बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही १३ असोजमा बाँकेको नौवस्ता कारागारबाट छुटेका थिए ।
कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा टाउकोबिनाको शव फेला परेको थियो । लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरसहित टोली घटनास्थलमा लगेर अनुसन्धान थालेको थियो ।
पछि मृतक कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामी भएको खुलेको थियो । उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।
प्रहरीका अनुसार, पक्राउ परेका परियार बसेको आफन्तको घरको सेप्टिक ट्यांकीबाट मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहित बरामद गरिएको छ ।